समुन्द्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित प्यूठान जिल्लाको सदरमुकाम भने १२८० मिटरको उचाईमा रहेको छ । जम्मा १३०९ वर्ग कि.मी. क्षेत्रफलमा अवस्थित यस जिल्ला पुर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्लाले घेरेको छ । २ नगरपालीका र ७ गाउँपालीका गरी जम्मा ९ वटा स्थानिय तह रहेको यस जिल्ला तराई, मध्यपहाड र उच्च पहाडको प्रतिनिधित्व गरेको छ । माण्डवी र  झिम्रुक नदीले सिंचित समथर फाँट, गौमुखी र ऐरावति लगायत प्रसिद्ध धार्मिक पर्यटकिय स्थल एंव स्वर्गद्धारी प्यूठानको पहिचानको रुपमा रहेका स्थान हुन । 
जिल्लामा खाद्यान्न बाली तर्फ मकै, धान, गहुँ, तोरी, कोदो, जौ, फापर लगायतका बाली मात्र होइन, केरा लिचि, आँप, सुन्तला, कागती देखि नास्पाती र स्याउसम्म गरेको पाईन्छ । ताजा तरकारी, तरकारी वीउ, आलु र वीउ आलुका साथै खाद्यान्न वाली धान, गहुँ मकै र धानको वीउ उत्पादन भएको पाईन्छ । पशुपन्छी पालन तर्फ बाख्रा मुख्य हो भने कुखुरा, भैसी, गाई एंव सुंगुर/बंगुर पालन गरेको पाईन्छ । पछिल्लो समयमा चिसोपानीमा माछा पालन बारे चासो बढेको देखिन्छ ।  
उन्नत कृषि प्रविधिको प्रसारबाट कृषि  तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याई कृषकहरुको आर्थिकस्तरमा सुधार गर्दै देशको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले प्यूठान जिल्लामा २०२७ साल देखि साविकको पशु सेवा र कृषि विकास गर्ने शाखा कार्यालयको स्थापना भएतापनि मिति २०७५/०४/०१ गते देखि  साविकका पशु सेवा कार्यालय एंव कृषि विकास कायालय आधिकारीक रुपमा खारेजी भए पश्चात कृषकको हकहित लाई मध्यनजर गर्दै सोहि स्थानमा प्रदेश सरकार मन्त्री परिषदको मिति २०७७/०१/१७ को निणर्य अनुसार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहने गरी मिति २०७७/०४/०५ गते देखि विधिवत रुपमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना गरिएको हो । यस कार्यालय अन्तर्गत मुख्य दुईवटा सेवा प्रदायक शाखा; कृषि विकास र पशुपन्छी तथा मत्स्य विकास शाखा रहेका छन । बदँलिदो परिवेश अनुसार कृषकहरुको आवश्यकता एवम चाहना अनुसार सेवा प्रबाह गर्न एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्यूठान प्रयासरत छ ।